३० वैशाख काठमाडौं / थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले मंगलबार पुनः म्याद थपका लागि अदालत पेस गर्ने तयारी गरेको छ ।
चैत १५ गते नै पक्राउ परेका मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थपका लागि अदालत पेस गर्न लागिएको हो । राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेको गरेको प्रदर्शनमा अराजकता र लुटपाट गराउन भूमिका खेलेको आरोपमा मिश्र र धवलशमशेर राणासहतिलाई पक्राउ गरेको थियो । राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान अघि बढाएको छ ।
मिश्रसहित उनीपछि पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामै छन् । मिश्रलाई प्रहरीले पहिलोपटक थुनामा राखेर अनुसन्धान गर्न चैत १६ गते पाँच दिनको अनुमति पाएको थियो । चैत २० गते सात दिनको म्याद पाएको प्रहरीले चैत २७ गते १५ दिनको म्याद लिएर थुनामा राखेको थियो ।
यस्तै, वैशाख १० गते तीन दिन र वैशाख १४ गते सात दिन र वैशाख २१ मा पाँच दिनको म्याद पाएको थियो । मंगलबार उक्त समय अवधि सकिएसँगै पुनः म्याद थपका लागि जिल्ला अदालत पेस गर्न लागिएको हो ।