२०८२ श्रावण २, बिहिबार

क्यान्सरका दुर्लभ र महँगा औषधी अब नेपालमा निःशुल्क पाइने

क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि सरकारले निःशुल्क उपलब्ध गराउने भएको छ ।
क्यान्सरका दुर्लभ र महँगा औषधी अब नेपालमा निःशुल्क पाइने

२९ असार काठमाडौँ / क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि सरकारले निःशुल्क उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।

नेपालमा औषधि उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न मन्त्री पौडेलको पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधी सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो खेपको औषधि नेपाल आइपुगेको छ । यसअघि मन्त्री पौडेलले त्यस्ता औषधी प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने घोषणा गरेका थिए ।

डाइरेक्ट रिलिफले वन हर्ट वर्ल्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोगको औषधि हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले औषधी अभावमा विदेश गएर महँगो खर्च गनुपर्ने बिरामीको समस्या कम गर्न लामो मेहनतपछि सफलता प्राप्त भएको बताए ।

डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा ती औषधी नेपालको आवश्यकताअनुसार ५ वर्षसम्म सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । ‘क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या हुँदै आएको छ,’ मन्त्री पौडेलले भने, ‘राज्यको लगानीबिना नै धेरै नागरिकलाई राहत दिने प्रयास हामीले गरेका छौँ ।’

३७ प्रकारका औषधी क्रमैसँग आउने भए पनि अरु आवश्यक औषधीसमेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस