
पुस २०, काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालले राखेका सर्त मान्न तयार भएपछि तीनवटै पक्ष पार्टी समायोजनतर्फ अगाडि बढेको छ । रास्वपाको विवादित समानुपातिक सूची सच्याउनेलगायतका सर्त मान्न तयार भएपछि पूर्ण समायोजन गर्ने गृहकार्य सुरु भएको हो ।
रास्वपासँग कुलमान पक्षले १८ जनालाई समानुपातिक सूचीमा समावेश गर्ने सहमति गरेको थियो । जसमा केही उमेदवारको नाम काटेर समेटिएको थियो । प्राथमिकताको आधारमा पुछारमा नाम राखेको भन्दै कुलमान पक्ष असन्तुष्ट बनेको थियो । त्यस्तै, कुलमानले नातेदारलाई नै समानुपातिक सूचीमा राखेको भन्दै विवाद पनि बनेको थियो ।
त्यसै विषयमा शनिबार रास्वपा पार्टी कार्यालय वनस्थलीमा सभापति रवि लामिछाने, कुलमान र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच त्रिपक्षीय भेटवार्ता भएको थियो । स्रोतका अनुसार, सो भेटवार्तामा रास्वपाले समानुपातिक बन्दसूची सच्याउनेलगायतका सर्तहरू मान्न तयार भएको छ ।
आज आइतबार (पुस २०) रास्वपाको केन्द्रीय समिति बैठक पनि बोलाइएको छ । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले पार्टी पूर्ण समायोजनका लागि गृहकार्य सुरु भइसकेको जानकारी दिए ।