४ वैशाख, काठमाडौं /रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिने, आफू प्रतिनिधिसभाको जिम्मेवारीमै फर्कने प्रस्ताव लगेकी छन् ।
पार्टीका कार्यवाहक सभापति डिपी अर्यालसँग पुगेको प्रस्तावमा उनले एक व्यक्ति एक पदको जिम्मेवारीलाई व्यवहारमा उतार्न चाहेको उल्लेख छ । श्रेष्ठले आफू सांसदले सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेको, पार्टीको ‘मुभमेन्ट’ गर्ने जिम्मा अरूलाई दिन चाहेको बताएकी छन् ।
श्रेष्ठले राजकीय तथा व्यवस्थापकीय जिम्मेवारीको पाटो एक किसिमको, अनि पार्टीको अभियानकारी जिम्मेवारी दोस्रो किसिमको भएको भन्दै यसमा अब भिन्नता ल्याउन सिक्नुपर्ने उल्लेख गरेकी छन् ।
श्रेष्ठले भनेकी छन्– सार्वजनिक नीति निर्माणमा भूमिका खेल्ने सांसदले पार्टीको समेत पद ओगट्दा राम्रो सन्देश जाँदैन । त्यसमा अर्को व्यक्ति आउनुपर्छ । पार्टीमा उनले बुझाएको प्रस्तावमा अर्को कुनै सक्षम व्यक्तिलाई ल्याउनका लागि ढोका खोलिनुपर्ने उल्लेख छ । उनले आफ्नो विषय व्यक्तिगत नभई सैद्दान्तिक कोणबाट हेरिनुपर्ने भन्दै दुई महत्वपूर्ण जिम्मेवारी एकै व्यक्तिले लिनु मानवीय हिसाबले समेत उचित नहुने उल्लेख गरेकी छन् ।
यद्यपि यसअघि शिक्षामन्त्री हुँदासमेत श्रेष्ठ सहमहामन्त्री पदमा भने बहाल नै थिइन् । पार्टी सभापति रवि लामिछाने त्यसबेला उपप्रधान तथा गृहमन्त्री थिए । श्रममन्त्री डिपी अर्याल पार्टीको उपसभापति छँदै थिए ।
यद्यपि श्रेष्ठले त्यस बेला समेत एक व्यक्ति एक पदको बहस चर्चामै रहेको भन्दै अब पार्टीमा यसको कार्यान्वयन प्रक्रिया अघि बढाउनुपर्ने बताएकी छन् । नत्र रास्वपा अरु पार्टीजस्तै बन्न जाने उनको भनाई छ ।