
 
  
   
 
१४ कार्तिक काठमाडौं / निरन्तरको वर्षाका कारण बाढी र पहिरो जाँदा विभिन्न जिल्लामा राजमार्ग अवरुद्ध भएका छन् । तमोर करिडोर, मेची राजमार्ग र बीपी राजमार्ग बाढी–पहिरोका कारण अवरुद्ध भएका छन् ।
पाँचथर र धनकुटाको सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरान, धनकुटा, मूलघाट हुँदै पाँचथर–ताप्लेजुङ जोड्ने तमोर करिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यसैगरी मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पनि बाटो बन्द छ । गत असोजमा आएको बाढीपहिरोले क्षति पुगेपछि खोलिएको नयाँ ट्र्याकको ठाउँ–ठाउँमा पहिरो गएका कारण र जमिन भासिएका कारण राजमार्ग अवरुद्ध भएको हो ।
मोन्था चक्रवातको आंशिक प्रभावले कोशी प्रदेशका इलामसहितका जिल्ला समेत जोखिममा पर्ने पूर्वानुमान सार्वजनिक भएसँगै जिल्ला प्रशासन कार्यालयले सो सडकखण्डमा बिहीबार साँझदेखि सवारी आवागमनमा रोक लगाएको थियो ।