२०८२ अषाढ ६, शुक्रबार

आन्दोलनपछि शिक्षकहरू एसइईको उत्तर पुस्तिका परीक्षण गर्दै

माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षणको काम अघि बढेको छ ।
आन्दोलनपछि शिक्षकहरू एसइईको उत्तर पुस्तिका परीक्षण गर्दै

२२ वैशाख काठमाडाैँ / माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षणको काम अघि बढेको छ । गत शुक्रबारदेखि नै शिक्षकहरूले उत्तर पुस्तिका परीक्षण गर्न थालेका हुन् । देशभरका ५० वटा उत्तर पुस्तिका परीक्षण केन्द्रमा बसेर शिक्षकहरूले धमाधम परीक्षण गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए ।

कापी परीक्षणका लागि ३० हजार शिक्षकहरू खटिएको बोर्डले जनाएको छ । सरकारसँग ९ बुँदे सहमति भएपछि नेपाल शिक्षक महासङ्घले सडक आन्दोलन र शैक्षिक हडताल २९ औँ दिनमा वैशाख १७ गते अन्त्य गरेको थियो ।

त्यसपछि शुक्रबारदेखि नै कापी परीक्षणको काम थालिएको अध्यक्ष शर्माले बताए । कापी परीक्षणका लागि बोर्डले १५ दिनको समय निर्धारण गरेको थियो । कापी परीक्षणको अवस्था हेरेर बोर्डले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार नै नतिजा प्रकाशन गर्न सकिने वा नसकिने यकिन हुने उनको भनाइ छ ।

बोर्डले जिलास्थित शिक्षा विकास तथा समन्वय इकाइसँग समन्वय गरेर कापी परीक्षणका लागि थप शिक्षक परिचालन गर्न सक्ने जनाइएको छ । विगतमा कापी परीक्षणको कार्य शैक्षिक सत्र सकिएर बिदा भएको बेला हुने गरेको थियो । तर, यो पटक बिदाको बेला शिक्षकहरू सडक आन्दोलनका लागि काठमाडौँमा थिए । अहिले विद्यालय खुलेको समय भएकाले शिक्षकहरूले पनि अतिरिक्त समयमा काम गर्नुपर्ने अवस्था छ ।

कापी परीक्षणको काम सकिएपछि आन्तरिक प्रक्रिया गर्न एक महिना समय लाग्ने बोर्डले जनाएको छ । बोर्डले यस अघि परीक्षा सकिएको तीन महिनामा नतिजा निकाल्ने योजना बनाएको थियो । असारको ७ गते नतिजा प्रकाशन गर्नेगरी कार्यतालिका बनाएको थियो । तर, यो पटक कापी परीक्षणको काम ढिला गरी सुरु भएकाले उक्त मितिमा सार्वजनिक गर्न सकिने वा नसकिने अहिले नै भन्न सकिने अवस्था नरहेको अध्यक्ष शर्माले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस