२७ चैत, काठमाडौं / दिउँसोको टन्टलापुर घाम । त्यही घाममा रातो टोपी लगाएर कोही मादल बजाइरहेका छन् । कोही हार्मोनियम, मादल, बाँसुरी, डम्फु, खैंजडी र मुजुराले संगीत भर्दै गाइरहेका छन् ।उनीहरूलाई ताली बजाउँदै र नाच्दै महिला–पुरूषहरूले साथ दिइरहेका छन् ।झट्ट हेर्दा लाग्छ कुनै दोहोरी वा सांगीतिक कार्यक्रम आयोजना भइरहेको छ । तर, गाउने, बजाउने र ताली ठोक्नेहरू सांगीतिक कन्सर्टका व्यवसायिक कलाकारहरू होइनन् । उनीहरू हुन् काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरु ।
उनीहरूले शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । रोचक त के छ भने सरकारविरुद्धको आन्दोलन पूरै सांगीतिक माहोलमा भइरहेको छ । कोही शिक्षकले जादू देखाएर मनोरञ्जन दिइरहेका छन् ।
बानेश्वर–बबरमहल सडकखण्डमा हरेक दिन भेला भएर शिक्षक–कर्मचारीहरुले सरकारलाई झकझक्याउन रचनात्मक शैली अपनाएका छन् । विभिन्न राजनीतिक दल, पेशागत संघसंगठनहरुको समेत समर्थन पाइरहेका शिक्षक–कर्मचारीहरुका माग पूरा गर्न भने सरकार गम्भिर देखिएको छैन ।
त्यसैले तनहुँको अमरज्योती माविका शिक्षकहरु बिजुलीबजार पुलनेर भेला भएर सल्ला धुपैले बोलको गीतको लयमा सरकारलाई सोध्दैछन ‘सडकमा कहिलेसम्म हिँडाउने ? हामी नै हो कखरा चिनाउने, सल्ला धुपैले…।’
हरेक दिन बिहान १० बज्दा नबज्दै शिक्षक–कर्मचारीहरु माइतीघर, बबरमहल–बिजुलीबजार पुल क्षेत्रमा भेला हुन थाल्छन् । केहीबेर सरकारविरुद्ध नारा लगाउँछन् । अनि सडकमै बसेर यसैगरी नाचगानमा व्यस्त हुन्छन् । तीन–चार बजेपछि भने उनीहरु लाखापाखा लाग्छन् ।
बानेश्वर चोकतर्फको निषेधित क्षेत्रतिर आउनबाट शिक्षकहरुलाई रोक्न तैनाथ प्रहरीहरु पनि सडकमा ब्यारिकेड हटाउन थाल्छन् । स्वयंसेवकहरु भने पानीका बोतल, कागज र प्लास्टिकहरु टिपेर सडक सफा गर्छन् । शिक्षकहरु दिनहुँ यसैगरी आन्दोलनमा उत्रिँदै आएका छन् । सरकारले उनीहरुका माग कहिले पूरा गर्छ र उनीहरु विद्यालय फर्किन्छन् ठेगान छैन ।
उनीहरु आफूहरुको यो निर्णायक आन्दोलन भएकाले माग पूरा नभएसम्म विद्यालय नफर्किने अडानमा छन् । तर उनीहरुका गीतमा भने छिटो विद्यालय जान पाए हुन्थ्यो भने संकेत मिल्दछ ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका शिक्षक तथा कर्मचारीहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् । विद्यालय बन्द गरेर र एसईई परीक्षाको उत्तरपुस्तिका नजाँच्ने घोषणा गरेर उनीहरु आन्दोलनमा उत्रिएका छन् ।