१६ वैशाख काठमाडौँ / आफूहरूको मागका सम्बन्धमा सरकारसँग हालसम्म भएका वार्ता सकारात्मक नबनेको शिक्षकहरूले बताएका छन् ।
उनीहरुले तत्काल सहमति नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् । आज बिहान बसेको नेपाल शिक्षक महासंघको बैठकमा शिक्षक नेताहरू सरकार आफूहरुको माग र मुद्दाप्रति गम्भीर नदेखिएको भन्दै आन्दोलन थप चर्काउनुपर्ने पक्षमा उभिएको बताइएको छ ।
सोही अनुसार आन्दोलनलाई थप सशक्त बनाएर माग सम्बोधनका लागि दबाब दिनेगरी निर्णय भएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बताए ।
माग सम्बोधनका लागि सरकारी पक्ष गम्भीर नदेखिएको भन्दै उनले आन्दोलनलाई थप सशक्त बनाइने बताए । वार्तामा खासै उपलब्धिमूलक नभएपछि आन्दोलनलाई नै सशक्त बनाउने लैजाने भन्ने रहेको उनको भनाइ थियो ।
शिक्षा मन्त्रालय र महासंघबीचको वार्तामा सरकारको तर्फबाट पैसा खर्च हुने मागहरू पुरा गर्न समस्या हुने मनसाय व्यक्त भएको बताइएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली लगायतका शिक्षक नेताहरूले हिजो राति १२ बजेसम्म शिक्षामन्त्रीसँग छलफल गरेका थिए । तर सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको उक्त वार्तामा ठोस सहमति हुन नसकेको बताइएको छ ।
मन्त्रालयले आवश्यक तयारी गरेर आज फेरि वार्तामा बस्ने कार्यक्रम छ । आजको वार्तामा मन्त्रालयले ठोस तयारीसहित प्रस्तुत हुने अपेक्षा गरिएको छ । अन्यथा आन्दोलन थप शसक्त बनाउने शिक्षकहरुको भनाइ छ ।
शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिएका थिए । केही विषय टुङ्गो लगाउन बाँकी रहेको र वार्ता सकारात्मक रूपमा अगाडि बढेको उनको भनाइ छ ।
शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको बताए । महाससंघसँग वार्ता सकारात्मक रूपमा अगाडी बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा सरकार रहेको बताए ।