८ साउन, काठमाडौं / कम्बोडियाका अधिकारीहरुले चलाएको गोलीले एक नागरिकको मृत्यु र ३ जना घाइते भएपछि हवाई आक्रमण गरिएको थाइल्याण्डको सेनाले जनाएको छ ।
कम्बोडियाको दुईवटा सैन्य अड्डालाई लक्षित गरेर हवाई आक्रमण गरिएको बैंकक पोष्टको अनलाइन संस्करणले जनाएको छ । थाई सेनाका उपप्रवक्ता रिचा सुक्सुवाननलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘हामीले योजना अनुसार, सैनिक अड्डामा हवाई शक्ति प्रयोग गरेका छौं ।’
सीमामा तनाव भइरहेका बेला कम्बोडियाली सैनिकहरुले थाइल्याण्डको उत्तरपूर्वी सुरिन प्रान्तमा रहेको एक सैन्य बेसमा गोली हानेको समाचारमा भनिएको छ । बिहानसम्ममा कम्तिमा ६ स्थानमा तनाव फैलिएको बैंकक पोष्टको समाचारमा जनाइएको छ ।
कम्बोडियाका अधिकारीहरुले पनि थाइल्याण्डले हवाई आक्रमण गरेको पुष्टि गरेका छन् । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाइल्याण्डको कम्बोडियाली सैनिक अड्डामा आक्रमण गरेको पुष्टि गरेका छन् ।