२५ जेठ काठमाडौँ / रुपन्देहीमा मध्यराति एक युवतीको जल्दै गरेको शव प्रहरीले बरामद गरेको छ ।
सम्मरीमाई गाउँपालिका ५ निवासी प्रमोद पालकी पत्नी २२ वर्षीया सिर्जना पालको जल्दै गरेको शव बरामद गरेर पोस्टमार्टमका लागि लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले जानकारी दिए ।
गएराति घरबाट झण्डै एक किमी टाढा रहेको खेतमा आगोको मुस्लोमा जल्दै गरेको अवस्थामा युवतीको शव फेला परेको हो, ‘घटनास्थलबाट प्रहरीले आधा जलेको शव बरामद गरेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ ।
उनलाई कसैले हत्यापछि आगो लगाएका हुन् कि आफैँ जलेको भन्ने विषय अनुसन्धानकै क्रममा रहेको उनले बताए । ‘तर, घटना शंकास्पद छ,’ डीएसपी सापकोटाले भने ।
आफ्नो घरदेखि करिब १ किलोमिटरको दुरीमा सिर्जना जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले आइतबार बिहान २ बजे घटनास्थलमा पुगेको थियो ।
रुपन्देहीकै तिलोत्तमा १७ माइत भएकी सिर्जना र प्रमोदबीच एक वर्षअघि मात्रै विवाह भएको थियो । उनले १२ कक्षा उत्तीर्ण गरेकी थिइन् । घरमा किराना पसल चलाउँदै आएका उनका पतिले पनि स्नातकोत्तर पढ्दै गरेका प्रहरीले जनाएको छ ।
घटनापछि सिर्जनाका पति प्रमोदसहित परिवारका सदस्य र केही स्थानीयलाई सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाइएको डीएसपी सापकोटाले बताए ।