
पुस ३, बुटवल / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेसी आज तोकिएको छ ।पटक–पटक स्थगित हुँदै आएको मुद्दाको पेसी आज पनि सुनुवाइ हुने वा नहुनेमा यकिन छैन ।
हालसम्म रवि लामिछानेतर्फबाट दुई पटक र छविलाल जोशी तर्फबाट एक पटक पेसी स्थगित गरिएको छ। लामिछाने र जोशीको यो पेसी कात्तिक १३ गते यता निरन्तर सातौं पटकको हो।
यसअघि मंसिर २५ गते तोकिएको पेसी ‘हेर्न नमिल्ने’ परेपछि स्थगित भएको थियो। त्यसअघि मंसिर ११ गतेको पेसी भने लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो।
कानुनअनुसार एउटै मुद्दामा पक्ष र विपक्ष दुवैबाट अधिकतम दुई–दुई पटक मात्र पेसी स्थगित गर्न पाउने व्यवस्था छ। यस मुद्दामा सरकारी पक्षबाट भने कुनै पनि पटक पेसी स्थगित भएको छैन । बिहीबारको पेसी गत १३ गतेपछि निरन्तर सरिरहेको छ ।