२६ असोज काठमाडौँ / बस दुर्घटनाका घाइतेले उपचार नपाएको भन्दै महोत्तरीको बर्दिबासमा पीडित परिवार र स्थानीयले आज यातायात बन्द गरेका छन् ।
यही असोज १७ गते बर्दिबास–११ खयरमारामा ना.६ ख १४६४ नम्बरको बस दुर्घटना हुँदा एकजना पैदल यात्रुसहित २ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए । दुर्घटनाका घाइतेले उपचार नपाएको भन्दै पीडित पक्षले आइतबार बिहान राजमार्गमा पर्ने बर्दिबास ३ गौरीडाँडामा सडक अवरुद्ध गरेका हुन् ।
दुर्घटनापछि गम्भीर घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ लगिएको थियो । काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर इन्टरनेसनल हस्पिटल र पाटन अस्पतालमा उपचाररत घाइतेले यातायात ब्यबसायी संघ र बस संचालकले आवश्यक समन्वय नगर्दा बिरामीले औषधिसमेत नपाएको पीडित पक्षको गुनासो छ ।
यसैबीच बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीले खयरमारा बस दुर्घटनाका घाइतेको उपचारको पहल गर्न आफू आज काठमाडौँ जान लागेको बताएका छन् ।