३२ असार काठमडौँ / बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धुलिखेलमा भएको सुरक्षा समिति बैठकले काभ्रे सडकखण्डको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
मनसुन सक्रिय रहेकाले सम्भावित विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।
यसअघि यही असार ६ गते काभे्र, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा समिति, अन्तरजिल्ला समन्वय समितिको बैठकले बीपी राजमार्गमा सुरुमा असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ६ः०० बजेसम्म र पछि त्यसलाई असार मसान्तसम्म निरन्तरता दिँदै यातायात सञ्चालनमा रोक लगाएको थियो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले वर्षामा बाढीपहिरोको जोखिम भएकाले काठमाडौँबाट जाने सवारीलाई काभ्रेको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको नेपालथोकमा रोकिने बताए ।