
मङ्सिर २४, जनकपुरधाम / एमाले नेता शिवशंकर साहलाई नाबालिग बलात्कारको आरोपमा भारतबाट पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई भारतको बिहार राज्यको सीतामढी जिल्लाबाट मंगलबार राति पक्राउ गरी धनुषा ल्याइएको हो।
प्रहरीका अनुसार गत कार्तिक २२ गते जानकी चोकस्थित एक होटेलमा १३ वर्ष ४ महिनाकी नाबालिगलाई दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरिएको थियो । सो घटनामा संलग्न अभियोगमा जनकपुरधाम उपमहानगरपालिका–१० का स्वर्गीय किशोरीलाल साहका छोरा मनोजकुमार साहलाई यसअघि नै काठमाडौँबाट पक्राउ गरी धनुषा ल्याइसकिएको छ। मनोज साहको बयानका आधारमा हिरा साहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो, जसमा दुई जना अझै फरार छन्।
पीडित पक्षको उजुरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी पाउनासाथ साह भारततर्फ फरार भएका थिए।