
पुस २५, सुर्खेत / कालीकोटमा नेकपा एमाले उम्मेदवार सिफारिसको विवाद भएको छ । विवादपछि युवा नेता वकिल बमले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । पार्टीले उम्मेदवार सिफारिसमा एकलौटी गरेको र इमानदार कार्यकर्तालाई पाखा लगाएको आरोप लगाउँदै उनले राजीनामा दिएका हुन् ।
केही दिनअघि काठमाडौंमा भएको कालिकोटको जिल्ला भेलाले वकिल बम सहित तीन जनाको नाम सिफारिस गरेको थियो । तर, उक्त निर्णय विवादित बनेपछि पुस २३ गते जिल्लामा बसेको बैठकले नगीन्द्र शाही ’नेशनल’ को नाम पुनः एकल सिफारिस गरेको थियो ।
आफ्नो राजीनामा पत्रमा नेता बमले पार्टी नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन् । उनले मुलुक राजनीतिक संकटमा रहेको बेला युवाहरूको भूमिका महत्त्वपूर्ण हुने भए तापनि पार्टीभित्र ’चाकडी’ गर्ने र ’मैदानमा नउत्रने’ हरूलाई मात्र अवसर दिइएको उल्लेख गरेका छन् ।