२०८२ बैशाख ८, सोमबार
अमेरिकी उपराष्ट्रपति जेडी भेन्स

अमेरिकी उपराष्ट्रपति आजदेखि भारत भ्रमणमा

अमेरिकी उपराष्ट्रपति आजदेखि भारत भ्रमणमा

८ वैशाख, काठमाडौं / अमेरिकी उपराष्ट्रपति जेडी भेन्स आज चार दिने भारत भ्रमणका लागि दिल्ली आइपुग्दै छन् । उनीहरूको स्वागतका लागि सडकहरूमा ठूला–ठूला होर्डिङहरू राखिएको छ भने दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भारतीय मूलकी श्रीमती ऊषा र तीन सन्तानसहित आज बिहान भारत भ्रमणमा आउन लागेका भेन्सले आजै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेन्स दिल्ली आइपुगेपछि सबैभन्दा पहिले आफ्ना परिवारसहित स्वामीनारायण अक्षरधाम मन्दिर जानेछन् ।

भारतीय समय अनुसार आज साँझ साढे ६ बजे प्रधानमन्त्री मोदीले प्रधानमन्त्री निवासमा भेन्स र उनको परिवारको स्वागत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले आज जेडी भेन्सको सम्मानमा रात्रिभोज (डिनर) आयोजना गरेका छन् ।

त्यसपछि भारत र अमेरिकाबीच औपचारिक वार्ता हुने छ । उक्त वार्तामा भारतीय टोलीमा विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिस्री र अमेरिकामा भारतका राजदूत विनय मोहन क्वात्रा सहभागी हुनेछन् ।

पाँच सदस्यीय अमेरिकी प्रतिनिधिमण्डल सहित आउन लागेका भेन्सले भारतका आगरा र जयपुर भ्रमण गर्ने कार्यक्रम पनि छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ६० देशमा ट्यारिफ (आयात शुल्क) लगाएको बेला उपराष्ट्रपति जेडी भेन्सको यो भ्रमणलाई चासोका साथ हेरिएको छ । त्यसैले दुवै देशबीच हुने वार्तामा व्यापारको विषय सबैभन्दा प्रमुख बन्ने छ ।

यसका साथै क्षेत्रीय सुरक्षा र आपसी सम्बन्धहरूबारे पनि छलफल हुने अपेक्षा गरिएको छ । भारत–अमेरिका व्यापार सम्झौताको पहिलो चरण सम्पन्न गर्न भेन्सको यो भ्रमण महत्त्वपूर्ण मानिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस