
२५ कात्तिक, जनकपुरधाम / मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध एमालेबाहेकका दलहरुले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित दलहरु मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । उक्त रिट निवेदनको पेसी बुधबारलाई तोकिएको छ ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध दलहरूले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । रिट लिएर नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइन्सहितका नेताहरू सर्वोच्च अदालत पुगेका थिए । उनीहरुलाई रिट निवेदनमा सहयोग गर्न मधेश प्रदेशका पूर्व मुख्यन्यायाधिवक्ता दीपेन्द्र झासमेत पुगेका थिए ।