
१९ असोज, म्याग्दी । मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा भूगर्भविद्को टोलीले २६ वटा पहिरोको स्थलगत अध्ययन गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौर्गभिक समाजमा आबद्ध भूगर्भविद्को टोलीले बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेको हो ।
समाजका अध्यक्ष भास्कर खतिवडाको नेतृत्वमा रहेको टोलीले बेनी नगरपालिकाका २२ र रघुगंगा गाउँपालिकाका चार स्थानमा रहेका पहिरोको अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।
शनिबार र आइतबार सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा ६ जना भूगर्भविद्ले तीन समूह बनाएर पहिरोग्रस्त क्षेत्रको अध्ययन गरेका थिए ।
टोलीले बेनी नगरपालिकाको भसभसे, खबरा, लभ्लीहिल, हाडेभिर, तल्लो मुसुङ, चिनाखेत, भुकभुके, छेपारे, सिङ्गा तातोपानी, आगेबगर, अर्थुङ्गे, अँधेरी गैरा, जम्रेनी, जामुनाखर्क, महारानीथान, भ्याउनी खोला, बराह पाखो, प्रकाश माविको पाखा, खरेनी पाखा, जलेश्वर, गलेश्वर, तोरीपानी र माटे बिसौनालगायत क्षेत्रको अध्ययन गरेको हो ।
त्यस्तै रघुगंगा गाउँपालिकाको हरखर्क, बरखर्क, माझखर्क र कल्लेनी पहिरोको समेत अध्ययन गरिएको छ ।
समाजका अध्यक्ष खतिवडा, भूगर्भविद् डा. चम्पकबाबु सिलवाल, दीपक गौतम, रुपक ज्ञवाली, जानकी खत्री र मीरा जिसीलगायतको टोलीले पहिरोको अवस्था अध्ययन गरेको थियो । टोलीमा बेनी नगरपालिकाका इन्जिनियर माधव देवकोटा, विजयनारायण मण्डल र जिल्ला समन्वय समितिका इन्जिनियर सुमन सुवेदीसमेत सहभागी थिए ।
पहिरोको अवस्था र माटोको बनोटको सटिक आकलन गर्न ड्रोनबाट तस्बिर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुंगा तथा माटोका नमुना संकलन गरिएको भूगर्भविद् एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक चम्पकबाबु सिलवालले बताए ।
टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पसचोकमाथिका पहिरोग्रस्त क्षेत्रको समेत अध्ययन गरेको थियो । त्यसको प्रारम्भिक प्रतिवेदन आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रस्तुत गरिएको छ ।
अध्ययन टोलीले बेनी बजारको न्युरोड क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई विशेष सावधानी अपनाउन सुझाव दिएको छ ।
न्युरोडमा पछिल्लोपटक खसेको पहिरो अझै सक्रिय हुनसक्ने र माथिल्लो क्षेत्रमा थप जमिन चर्किएर बग्ने अवस्थामा रहेकाले सावधानी अपनाउन टोलीका संयोजक खतिवडाले आग्रह गरे ।
उनका अनुसार पहिरोको नियमित अनुगमन र आकारको मापन गरी अभिलेख राख्ने, भूमिगत पानीका स्रोतको सुरक्षित व्यवस्थापन गर्ने तथा धाँजा फाटेको जमिनमा पानी पस्न नदिने जस्ता अल्पकालीन उपाय अपनाउन सुझाव दिइएको छ ।
दीर्घकालीन रूपमा पहिरो नियन्त्रणका लागि गर्नुपर्ने काम समेटेर विस्तृत प्रतिवेदन तयार पारिने उनले बताए ।
अध्ययन टोलीका अनुसार असोज ८ देखि ११ गतेसम्म लगातार परेको भीषण वर्षाका कारण भिरालो पाखाको जमिन गलेको, सडकको भल व्यवस्थापन नभएको, अव्यवस्थित विकास निर्माण तथा भूमिगत पानीको सुरक्षित व्यवस्थापन हुन नसक्दा पहिरो सिर्जना भएको हो ।
गत हप्ताको झरीपछिको बाढीपहिरोका कारण म्याग्दीमा सात जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् ।
बाढीपहिरोबाट २०० भन्दा बढी घरगोठमा पूर्ण क्षति पुगेको छ भने दर्जनौँ गाउँका बासिन्दा विस्थापित भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार १११ घरमा पूर्ण क्षति, ९३ घरमा आंशिक क्षति र ३४२ घर जोखिममा परेका छन् । क्षतिको विवरण थपिन सक्ने उनले बताए ।
बाढीपहिरोका कारण म्याग्दीका मुख्य सडक, विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।