१७ असार, काठमाडौं / नक्कली प्रहरी बनेर शरीर बन्धक बनाई डाँका गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–८ बस्ने २४ वर्षीय समिर हुसेन र सोही महानगरपालिका–६ बस्ने २७ वर्षीय आशिफ अन्सारी रहेका छन् ।
विराटनगर महानगरपालिका–१३ रानीस्थित राइस मिल छेउमा सिटी सफारीमा सवार पुरूषलाई बन्धक बनाएर उनीहरुले डाँका गरेको आरोप छ । स्कुटरमा सवार उनीहरूले ती व्यक्तिलाई रोक्दै ‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ’ भनेका थिए । त्यसपछि स्कुटरको बीचमा ती व्यक्तिलाई जबरजस्ती राखी विराटनगर महानगरपालिका–१४ जतुवास्थित एकान्त स्थलमा पुर्याई डर त्रास देखाई उनको साथमा रहेको ३ लाख ६४ हजार रूपैयाँ डाँका गरेको आरोप छ ।
गत बुधबार बिहान डाँका गरिएको थियो । यसबारे पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोटरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।