३० जेठ काठमाडौँ / काठमाडौँको तीनकुने घटनामा पुर्पक्षका लागि कारागार चलान भएका सात जनालाई डिल्लीबजार कारागार लगिएको छ ।
तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति आदेश दिएको थियो ।
राति झण्डै साढे १२ बजे आदेश आएपछि उनीहरु ७ जना र धरौटी बुझाइनसकेका ६ जना गरी १३ जनालाई डिल्लीबजार कारागार लगिएको हो । तर ती ६ जना भने धरौटी बुझाउनासाथ रिहा हुनेछन् ।
कारागार चलान हुनेमा प्रसाईंसँगै तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपानी रेग्मी, शुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन् ।
अन्य ३२ जना प्रतिवादीलाई भने धरानैटीमा रिहा गर्न अदालतको आदेश छ । उनीहरुलाई १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म धरौटीमा रिहा गर्न जिल्ला न्यायाधीश ध्रुबराज कार्कीले आदेश दिएका छन् ।