२२ साउन काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । रास्वपाले साउन ७ गतेदखि २१ गते अपराह्न ५ बजेसम्म उम्मेदवारीका लागि आवेदन माग गरेको थियो । त्यसमा ९ जनाको उम्मेदवारी परेको पार्टीको सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।
आवेदन दिनेमा रूपन्देहीका सुलभ खरेल, भैरहवाका पार्थिवेन्द्र उपाध्याय, सिद्धार्थ नगरका डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता (शेखर), कुसुम महर्जन, मधु अर्याल, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल छन् ।
नामहरू उपर शुक्रबार र शनिबार दाबी विरोध आह्वान गरिएको छ । शनिबार नै नामावली प्रकाशन गरेर साउन २५ गते उम्मेदवारहरूसँग छलफल गरिने रास्वपाले बताएको छ ।
साउन २६ गते उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने र साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिक प्रोक्सिमिटी र समावेशिता मापन गरिने रास्वपाले बताएको छ ।
भदौ १२ र १३ गते तीन जना उम्मेदवारहरूको बीचमा प्रारम्भिक निर्वाचन गराइने र भदौ १५ गते उम्मेदवार तय गरिने रास्वपाले जनाएको छ । रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहरा निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।