२४ असार काठमाडौँ / अविरल वर्षापछि आएको बाढीका कारण रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।
प्रहरीका अनुसार, उद्धार गरिएका व्यक्तिहरूमध्ये २ जना नेपाल प्रहरीका जवान थिए भने बाँकी ७ जना स्थानीय बासिन्दा थिए । “भोटेकोशी नदीमा आएको बाढीका कारण यार्ड क्षेत्र पूर्ण रूपमा डुबानमा परेपछि उनीहरू जोखिममा परेका थिए,” एक प्रहरी अधिकृतले जानकारी दिए ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले समयमै उद्धार गरेर उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो । अहिले यार्ड क्षेत्र पूर्ण रूपमा खाली गरिएको र थप सतर्कता अपनाइएको प्रहरीको भनाइ छ ।
उद्धारकार्यका क्रममा कुनै मानवीय क्षति नभएको र हालको अवस्था नियन्त्रणमा रहेको जनाइएको छ । तर, अझै पनि लगातार वर्षा भइरहेकाले जोखिम कायमै रहेको बताइएको छ ।