२०८२ अषाढ २५, बुधबार

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट आसपासको क्षेत्र डुबानमा परेको छ ।
अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

२५ असार काठमाडौँ / मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट आसपासको क्षेत्र डुबानमा परेको छ । बर्दघाट नगरपालिका वडा नम्बर १० र ११ का अधिकांश बस्ती डुबानमा परेका हुन् । स्थानीय अर्जुन पाण्डेका अनुसार बर्दघाट क्षेत्रमा मंगलबार रातिदेखि अविरल वर्षात् भएको थियो ।

अहिले पानी पर्न केही मत्थर भए पनि रातभर परेको वर्षाको कारण बस्ती र खेत डुबानमा परेका छन् । बर्दघाट नगरपालिका वडा नम्बरस्थित १० ध्रुव टोल, लण्डन ब्रिज, भुताहा, पानीट्यांकी टोल, बेलटाँडी, मौराहा टाँडी लगायतका टोलहरू डुबानमा परेका छन् ।

बस्तीमा पानीको निकास कम भएपछि घरभित्रै पानी पसेको छ । डुबानले घरभित्र रहेका खाद्यान्न, अन्नपात, लत्ता–कपडा भिजेर नष्ट भएका छन् । त्यस्तै गोठमा बाँधिएका वस्तुभाउ, पशुपंक्षी लगायत उद्योग गोदाम र पसलहरू डुबानमा पर्दा ठूलो क्षति भएको वडा नम्बर १० का वडा सदस्य ऋषि पराजुलीले जानकारी दिएका छन् ।

स्थानीय नाला–खहरे र खोलाहरू सफा नहुँदा पानीले निकास नपाएको र बस्ती नै डुबानमा परेको पराजुलीले बताए । पराजुलीका अनुसार बर्दघाट माथिबाट बग्ने अल्हाल खोला र भुताहाको सिरानबाट बग्ने खोला थुनिएर बहाव परिवर्तन गर्दा बाढी बस्तीमा पस्ने गरेको छ ।

त्यस्तै पुराना कुलाहरू पुरिने र निर्माणाधीन पूर्वपश्चिम राजमार्ग उँचो बन्दा पानीको निकास बन्द हुने र सडकदेखि उत्तरतर्फका बस्ती डुबानमा पर्ने गरेका छन् ।

‘पहिलेका राजकुला र अन्य साना कुलाहरू पनि पुरिँदै गए, मुख्य राजमार्ग र अन्य भित्री सडकहरू पनि बस्ती भन्दा अग्ला बन्दै गए जसले गर्दा सडक माथिबाट बग्ने पानीको निकास थुनिएर पानी बस्तीभित्र पसेको हो,’ उनले भने ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस