
१७ कात्तिक, काठमाडौं / जेन–जी आन्दोलनमा भएको दमन र भोलीपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले नख्खु कारागारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ ।
आयोगको टोली सोमबार नख्खु कारागार पुगेर थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको हो । आयोगले नख्खु कारागारको निरीक्षण गर्नुका साथै कैदीबन्दीहरूसँग पनि सोधपुछ गरेको हो । आन्दोलनकारीहरूको भीड नख्खु कारागार पुगेपछि लामिछाने कारागारबाट बाहिर निस्किएका थिए । उनी निस्किएपछि अरू कैदीबन्दीहरू पनि कारागारबाट बाहिर निस्किएको आरोप लागेको छ ।
तर रवि लामिछाने र उनी आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले नख्खु कारागारका जेलर सत्यराज जोशीको जारी गरेको पत्रका आधारमा लामिछाने थुनामुक्त भएको दाबी गरेका थिए । नख्खुका जेलर जोशीसँग सोधपुछ गरेको भोलिपल्ट आयोगले थुनामा रहेका लामिछानेसँग सोधपुछ गरेको हो ।
बुटबलको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया प्रालीमा ल्याएर सहकारी ठगी गरेको आरोपमा लामिछाने थुनामा परेका छन् । भैरहवा कारागारमा रहेका उनलाई केही महिनाअघि नख्खुमा ल्याइएको हो । उनी नख्खुमै रहेका बेला भएको हुलदंगापछि उनी भदौ २४ मा कारागारबाट बाहिर निस्किएका थिए ।