२०८२ अषाढ २२, आईतबार

नेकपा एमाले सुदूरपश्चिम कमिटीको पूर्ण बैठक सम्पन्न, समसामयिक १३ प्रस्ताव पारित

नेकपा ९ एमाले ० सुदूरपश्चिम प्रदेश कमिटी सचिवालयको आठौं बैठक र प्रदेश कमिटीको सातौं पूर्ण बैठक धनगढीमा सम्पन्न भएको छ।
नेकपा एमाले सुदूरपश्चिम कमिटीको पूर्ण बैठक सम्पन्न, समसामयिक १३ प्रस्ताव पारित

असार २२ धनगढी, / नेकपा ९ एमाले ० सुदूरपश्चिम प्रदेश कमिटी सचिवालयको आठौं बैठक र प्रदेश कमिटीको सातौं पूर्ण बैठक धनगढीमा सम्पन्न भएको छ। सचिवालय बैठक असार १९ गते र पूर्ण बैठक असार २० र २१ गते पार्टी प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता र केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यतामा बसेको हो ।

बैठकमा पार्टीको वडास्तरीय तीन महिनाको अभियानको समिक्षा, सांगठानिक अवस्था, प्रदेश सरकारको कामको समीक्षा तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो ।

बैठकमा अध्यक्ष जैशीले राजनीतिक प्रतिवेदन, सचिव रणबहादुर चन्दले आगामी वार्षिक कार्ययोजना र उपसचिव नरबहादुर विश्वकर्माले आर्थिक प्रतिवेदनसहित आगामी आर्थिक वर्ष २०८२र८३ को अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

प्रदेश कमिटी, सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च र विभिन्न विभागमा आवश्यक मनोनयन गरी केन्द्रीय कार्यालयमा सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले १३ बुँदे समसामयिक प्रस्ताव पारित
बैठकले देश र प्रदेशको समसामयिक परिस्थितिलाई दृष्टिगत गर्दै १३ बुँदे प्रस्तावसमेत पारित गरेको छ। प्रस्तावमार्फत प्राकृतिक प्रकोप व्यवस्थापनदेखि पूर्वाधार विकास, सिमा सुरक्षा, खाद्य आपूर्ति, स्वास्थ्य सेवा र सुशासनसम्मका विषयमा चाँडो हस्तक्षेप गर्न सरकारलाई आग्रह गरिएको छ ।

प्रस्ताव अनुसार मौसम पूर्वानुमानअनुसार यस वर्ष अत्यधिक वर्षा हुने भएकाले सुदूरपश्चिमका बाढी, पहिरो र नदी कटानप्रभावित क्षेत्रमा जनधनको सुरक्षा गर्न आवश्यक सम्पूर्ण पूर्वतयारी मिलाउन संघ, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरिएको छ ।

कृषिप्रधान देशमा वर्षे बाली लगाउने यो महत्वपूर्ण समयमा किसानलाई समयमै मलखाद र कीटनाशक औषधिको आपूर्ति सुनिश्चित गर्न सरकारले तत्काल पहल गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

सुदूरपश्चिमका नागरिकहरू सीमापार रोजगारी तथा दैनिक उपभोग्य वस्तु ल्याउन भारत जाने क्रममा सीमामा भइरहेको दुर्व्यवहार अन्त्य गर्न तथा सहज आवतजावतको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रदेशका विभिन्न स्थानमा सीमा मिचिएको र त्यसबाट स्थानीय बासिन्दा पीडित भएकाले सीमा विवाद समाधान गर्न कूटनीतिक पहल गर्न नेपाल सरकारलाई बैठकले आह्वान गरेको छ ।

भूकम्प प्रभावित जिल्लाका नागरिकले अझै पनि राहत र पुनर्निर्माणसम्बन्धी प्याकेज प्राप्त नगरेकोप्रति चिन्ता व्यक्त गर्दै बैठकले तत्काल व्यवस्थापन गर्न माग गरेको छ ।

दार्चुलाको सदरमुकामलगायत क्षेत्रमा महाकाली नदीको कटान तीव्र भएकाले तटबन्ध निर्माण र अन्य संरचनात्मक व्यवस्थापन गर्न संघ र प्रदेश सरकारलाई तत्काल पहल गर्न सुझाव दिइएको छ ।

कैलाली, कञ्चनपुर लगायत पहाडी जिल्लामा बाढी, पहिरो र नदी कटानबाट प्रभावित क्षेत्रमा आवश्यक राहत तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न बैठकले आग्रह गरेको छ ।

डेङ्गु, कोरोना, हैजा जस्ता रोगहरूको सम्भावित संक्रमण फैलन सक्ने भएकाले औषधि व्यवस्थापन र जनचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउने विषयमा संघीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।

भीमदत्त राजमार्गसहित बझाङ, बाजुरा, अछाम, डोटी, दार्चुला, बैतडी लगायतका जिल्लाका सदरमुकाम जोड्ने सडकहरू खाल्डाखुल्डी र जोखिमयुक्त भएकाले ती सडकहरूको स्तरोन्नति गर्न बैठकले माग गरेको छ ।

महाकाली, सेती लोकमार्ग, खुटिया–दिपायल द्रुतमार्ग, बंकनाइल–बुडर, बैलौरी–कलुवापुर–दोमिल्लानाइल सडकजस्ता दीर्घकालीन महत्वका पूर्वाधारको निर्माण कार्यलाई आवश्यक बजेटको सुनिश्चितता सहित तीव्र रूपमा सम्पन्न गर्न बैठकले जोड दिएको छ ।

संघीय संसदबाट शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएकोमा बैठकले स्वागत गरेको छ। अब यस विश्वविद्यालयको शीघ्र सञ्चालन सुनिश्चित गर्न आवश्यक जनशक्ति व्यवस्थापन र भौतिक पूर्वाधारको तयारी गर्न सरकारलाई आग्रह गरिएको छ ।

जनतामुखी, सर्वसुलभ र सुशासनयुक्त शासन प्रणाली निर्माण गर्नका लागि भ्रष्टाचार र ढिलासुस्ती अन्त्य गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको छ ।

अन्त्यमा, दैलेखमा भएको पेट्रोलियम उत्खनन सम्भावनासम्बन्धी वैज्ञानिक अनुसन्धानलाई शीघ्र कार्यान्वयनमा लैजान र उक्त सम्भावनालाई प्रदेशको आर्थिक विकासमा रूपान्तरण गर्न नेपाल सरकारलाई बैठकले विशेष आग्रह गरेको छ ।

बैठकको निष्कर्षसहितको आज नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीकी उपसचिव तथा प्रमुख प्रचार विभाग प्रमुख भागरथी विष्टले बैठक प्रभावकारी भएको बताएकी थिइन् ।
प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बैठकको निर्णयहरु प्रस्तुत गरेकी थिइन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस