४ जेठ काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धन सरकारप्रतिको आलोचना बढ्नेक्रम जारी छ । संसद्का दुई प्रमुख ठूला दल कांग्रेस र एमाले सम्मिलित गठबन्धन सरकारबाट आमनागरिकले ठूलो अपेक्षा राखेका थिए ।
तर, जनअपेक्षा पूरा गर्न त परै जाओस् सरकारका काम कारबाही औसतभन्दा पनि कमजोर भएपछि सरकारप्रतिको आक्रोश बढ्दै गएको छ । अर्कोतर्फ प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र लगायतका विपक्षी दलहरू सरकारको नेतृत्व परिवर्तनको लागि निरन्तर कसरत गरिरहेका छन् ।
प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान सत्ता गठबन्धन र ओली नेतृत्वको सरकार ढाल्न अनेक कार्ड प्रयोग गरिरहेका छन् ।
शुक्रबार प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै गृहजिल्ला डडेल्धुराबाट टेलिफोन सम्वाद गरेका थिए । टेलिफोन सम्वादलगत्तै प्रचण्डले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रका प्रभावशाली नेतासमेत रहेका उपमहासचिव जनार्दन शर्मालाई देउवा निवास बूढानीलकण्ठ पठाएका थिए । उपमहासचिव शर्माले देउवासँग समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिएका छन् ।
त्यसो त सत्ता साझेदारको प्रमुख घटक नेपाली कांग्रेसभित्र चुलिरहेको सरकारप्रतिको असन्तुष्टिले सरकारको आयुबारे आशंका उत्तिकै जन्माएको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तमा कांग्रेस र एमालेबीच देखिएको विवादले वर्तमान सरकार अब धेरै दिन नजाने दाबी गरिँदै आएको छ ।
सरकारको चौतर्फी आलोचना भइरहेको सन्दर्भ र विपक्षी दलहरूले सरकार परिवर्तनको लागि पटक–पटक आग्रह गरे पनि सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने एमालेसँग भएको सात बुँदे सम्झौताप्रति प्रतिबद्ध देखिएका छन् ।