२६ असोज, काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य परीक्षण गराएका छन् । उनी आइतबार परिवारसहित धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका हुन् ।
अस्पताल स्रोतका अनुसार, पूर्वराजा शाहको प्रोस्टेट बायोप्सीको परीक्षण गरिएको हो । उक्त परीक्षणको रिपोर्ट ५ दिन पछि आउनेछ । ‘उहाँ प्रोस्टेट बायोप्सीको परीक्षणका लागि आउनुभएको हो । नियमित परीक्षण हो,’ अस्पतालका एक चिकित्सकले भने ।
प्रोस्टेट, पुरुषहरूमा मात्र हुने ग्रन्थी हो । यसलाई पुरुष ग्रन्थी पनि भनिन्छ । यो ग्रन्थी पिसाब थैलीको मुनी र मुत्रनलीको वरपर हुन्छ । ग्रन्थी र रेसा तथा मांसपेशीयुक्त तन्तुबाट प्रोस्टेट बनेको हुन्छ ।
उमेर बढ्दै जाँदा अरु ग्रन्थी झैं यो पनि बढ्न थाल्छ । तर, यो अस्वभाविक रुपमा बढ्न थालेमा मुत्राशयको समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन् ।