२०८२ अषाढ १७, मंगलबार

१० वर्षपछि गुगलले फेर्‍यो आफ्नो लाेगाे

सर्च इन्जिन गुगलले आफ्नो परिचित ‘जी’ आइकनमा एक महत्त्वपूर्ण परिवर्तन ल्याएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख ३०, मंगलबार
१० वर्षपछि गुगलले फेर्‍यो आफ्नो लाेगाे

३० वैशाख काठमाडौँ / सर्च इन्जिन गुगलले आफ्नो परिचित ‘जी’ आइकनमा एक महत्त्वपूर्ण परिवर्तन ल्याएको छ । विगत १० वर्षदेखि प्रयोगमा रहेको चार खण्डको ठोस रङयुक्त गोलाकार डिजाइनलाई परिमार्जित गरी कम्पनीले रङहरू एक–आपसमा मिसिने खालको बनाएको हो ।

यसले गुगलको नयाँ आइकनलाई अझ रङ्गिन देखाएको छ । सन् २०१५ सेप्टेम्बर १ मा गुगलले आफ्नो मुख्य लोगो ‘गुगल’लाई ‘प्रोडक्ट सान्स’ नामक आधुनिक टाइपफेसमा परिवर्तन गरेको थियो ।

नाइन टु फाइभ गुगलका अनुसार अबको नयाँ डिजाइनमा चार ओटा छुट्टाछुट्टै ठोस रङका खण्ड रहने छैनन् । त्यसमा रातो रङ पहेँलोमा, पहेँलो हरियोमा र हरियो नीलो रङमा क्रमशः मिसिएको देखिनेछ ।

यो नयाँ परिवर्तन गुगलको ‘जेमिनाई ग्रेडियन्ट’ सँग मिल्दोजुल्दो देखिन्छ । यता गुगलले ल्याउन लागेको ‘एआई मोड’ मा पनि यस्तै प्रकारको सर्टकट प्रयोग गरिएको छ ।

यो नयाँ आइकन हाल एप्पलको आईओएसका लागि गुगल सर्च एपमा मङ्गलबारको अपडेटसँगै उपलब्ध भइसकेको छ । सोमबार गुगल एपको १६.१८ भर्सनमार्फत एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि यो परिवर्तन ल्याइएको छ ।

यो एक सूक्ष्म परिवर्तन भएकाले प्रयोगकर्ताले तुरुन्तै याद नगर्न सक्छन् । ब्राउजरको सानो फेभिकनको रूपमा त यो झनै कम देखिनेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस