६ साउन काठमाडौँ / दुधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगङ्गा महादेव मन्दिरमा सोमबार हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ । हत्या गरिएका व्यक्ति भारतको सितामडी भवदेपुर–११ का पङ्कजकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
उनी मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए । शव परीक्षणपछि उनको परिवारको जिम्मा लगाइने उनले बताए । मृतकका माइला दाजु रञ्जित भगतले सिन्धुली अस्पतालमा आएर मृतकको सनाखत गरेका हुन् ।
सोमबार बिहान उक्त स्थानमा करिब २५–३० वर्षको पुरुषको शव फेला परेको थिया े। प्रारम्भिक अनुसन्धानमा मृतकको छातिमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरी उपरीक्षक सुवेदीले बताए । प्रहरीले घट्नास्थलबाट धारिलो हतियार चुप्पी र खुर्पा बरामद गरेको थियो ।
प्रहरीका अनुसार पङ्कज साथिहरुसँग मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै आएका सबैजना फरार रहेका र घटनामा संलग्नलाई चाँडै पक्राउ गरिने प्रहरी उपरीक्षक सुवेदीको भनाइ छ ।