६ असार काठमाडौँ / बम विस्फोटको प्रमाण मेटाउन घाइतेलाई इँटाभट्टामा जलाएको कसुरमा पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालत रौतहटले दिएको जन्मकैदको फैसला उल्ट्याउने न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनमाथि छानबिन हुने भएको छ । न्याय परिषद्ले सर्वोच्चका न्यायाधीश विनोद शर्माको अध्यक्षतामा समिति गठन गरेर छानबिन अघि बढाएको हो ।
तथ्य प्रमाण यथेष्ट हुँदाहुँदै पनि आलमलाई सफाइ दिने न्यायाधीशहरूमाथि छानबिन नगरेको भन्दै न्याय परिषद्माथि प्रश्न उठ्दै आएको थियो । उच्च अदालतबाट फैसला आएको तीन सातापछि परिषद् छानबिनका लागि तयार भएको हो ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय थारू र महर्जनलाई बिहीबारदेखि इजलासमा बस्न पनि रोक लगाइएको छ । उनीहरूलाई सर्वोच्च अदालतमा हाजिर हुन बोलाइएको परिषद्का एक अधिकारीले जानकारी दिए ।
रौतहटको राजापुरमा २७ चैत २०६४ मा भएको बम विस्फोटका घाइते पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले १३ वैशाख २०८१ मा आलम र अन्य तीनलाई जन्मकैदको सजाय सुनाएको थियो । त्यसविरुद्ध आलमले गरेको पुनरावेदनमा गत १४ जेठमा सुनुवाइ गर्दै न्यायाधीशद्वय थारू र महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएको थियो । फैसला भएकै दिन नक्खु कारागारबाट आलम छुटेका थिए ।