२५ जेठ काठमाडौँ / भारतको हैदरावादमा लिभिङ टुगेदरमा बसेकी एक जना महिलाको हत्या गरेको आरोपमा नेपाली पुरूष पक्राउ परेका छन् ।
जुन ४मा हैदरावादको बचुपल्लीस्थित आवासीय क्षेत्रमा एउटा झोला फेला परेको थियो । उक्त झोलामा ३३ वर्षीया तारा बोहराको शव फेला परेको भारतीय अनलाइन पत्रिका इन्डिया टुडेले जनाएको छ ।
उनको हत्या आरोपमा लिभिङ टुगेदरमा रूपमा बस्दै आएका उनका प्रेमी विल्सन नामक विजय टोप्पा पक्राउ परेका हुन् । उनी एक लोकल रेस्टुरेन्टमा सेफ थिए ।
प्रहरीको अनुसन्धानले विजय र ताराको चिनजान फेसबुकमार्फत भएको थियो । पछि उनीहरू लिभिङ टुगेदरको रूपमा बस्न थालेका थिए ।
तारा विवाहित थिइन् । दुई बच्चाकी आमा भएकी उनी अप्रिल १५मा विजयसँग बोराम्पेटमा एक घर भाडामा लिएर बस्दै आएका थिइन् ।
मे २३ मा उनीहरू दुई जनाबीच झगडा भएको प्रहरीले जनाएको छ । तारा गर्भवती भएको विषयलाई लिएर सुरू भएको झगडा हत्यासम्म पुगेको इन्डिया टुडेले समाचारमा लेखेको छ ।
विजयले तारालाई नाइलनको धागोले घाँटी कसेर हत्या गरेको आरोप छ । त्यसपछि शव ब्यागमा राखेर बचुपल्लीस्थित आवासीय क्षेत्रमा लगेर फ्याँकेका थिए ।
स्थानीय सुरक्षागार्डले शव फेला पारेर प्रहरीलाई जानकारी गराएका थिए ।