काठमाडौं, साउन ८ / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी गर्नुभएको छ ।
उहाँका अनुसार चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको छ । ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् लेख्दै भन्नुभएको छ, ‘यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ ।’
उहाँका अनुसार आफू प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको थियो । ‘गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको छ,’ ओलीले उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले घरेलु उत्पादनमा आधारित निर्यात प्रवद्र्धनलाई प्राथमिकता दिएको दाबी गर्दै आएको छ । निर्यात वृद्धिको यो तथ्याङ्कले सरकारको नीति सही दिशातर्फ उन्मुख रहेको जनाइएको छ ।