२४ भदौ, काठमाडौं / नयाँ पुस्ताका युवा (जेनजी)हरुले कर्फ्यु आदेश अवज्ञा गर्दै आज बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।
हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । बानेश्वरको संसद भवन अगाडि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको छ । उनीहरुले तारबार व्यवस्थित गर्ने काममा व्यस्त देखिन्छन् ।
हिजो संसद भवनभित्रै प्रवेश गरेर केही युवाहरुले तोडफोड गरेका थिए । आज भने संसद भवन परिसरभित्रै सेना हतियारसहित बसिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे आठ बजेदेखि अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र प्रदर्शन, जुलुश, भेला केही पनि गर्न नपाउने गरी कर्फ्यु लगाएको छ । तर प्रदर्शनमा सहभागीहरुले त्यसलाई अवज्ञा गरिरहेका छन् ।