६ असोज काठमाडौँ / मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम काटिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्य तथ्या जनसंख्या मन्त्रीका लागि सिफारिस गरी पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन् ।
तर मिश्रको नागरिकता विवाद र अनियमिततासम्बन्धी विषय गम्भीरतापूर्वक उठेपछि आज बिहानै उनको नाम काटेर पुनः चार जनाको नामसूची राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पठाइएको हो ।
‘हिजोको सूची सच्याएर आज पुनः चार मन्त्रीको नाम मात्र पठाइएको छ,’ मन्त्रिपरिषद् स्रोतले भन्यो, ‘मिश्रको नाम हटाइएको छ ।’ आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेलले मात्र शपथ खाने छन् । शपथ समारोह दिउँसो २ बजे शीतल निवासमा हुँदै छ ।
अहिलेलाई स्वास्थ्यमन्त्री पद खाली नै राखिएको छ, स्रोतको भनाइ छ । मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन् । उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरेकी थिइन् ।