२०८२ आश्विन ३०, बिहिबार

श्रीमतीको हत्यापछि सिधै नख्खु कारागार फर्किएका थिए सन्तबहादुर

श्रीमतीको हत्यापछि सिधै नख्खु कारागार फर्किएका थिए सन्तबहादुर

६ असोज, काभ्रेपलाञ्चोक / काभ्रेको पनौती नगरपालिका–१२, गागलमा श्रीमतीको हत्या गरेर सन्तबहादुर तामाङ नख्खु कारागार फर्किएको खुलेको छ ।

श्रीमती मनिषा घ्यावा तामाङ (जमुना)को हत्या गरेर शव खाल्डोमा पुरेर उनी कारागार फर्किएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कोमल शाहले जानकारी दिए । हत्याको आरोपबाट जोगिन उनी कारागार फर्किएको प्रहरीको आशंका छ ।

गएको भदौ २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा कारागार तोडफोड र आगजनी गरिँदा तामाङ जेलबाट भागेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा असोज २ गते राति श्रीमती पर–पुरुष सँग लागेको शंकाको आधारमा श्रीमान–श्रीमतीबीच झगडा भई श्रीमानले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिए ।

उनका अनुसार श्रीमतीको हत्या पश्चात घर नजिकै करेसा बारीमा खाल्डो खनी पुरेर असोज ३ गते नख्खु कारागारमा उपस्थित हुन गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र थप अनुसन्धान कार्य भइरहेको बताए ।

उनी कारागार फर्किएको खुलेपछि काभ्रे प्रहरीको टोली समेत नख्खु पुगेको छ । उनीमाथि अब कर्तव्य ज्यान मुद्दामा पनि अनुसन्धान गरिनेछ ।
तामाङका १२ वर्षीय एक छोरा र तीन वर्षीया छोरी छन् । जबरजस्ती करणी कसुरमा उनको कैद सजाय पूरा हुन एक महिना मात्र बाँकी रहेको कारागार स्रोतले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस