
  
   
 
१८ कार्तिक भैरहवा / भैरहवास्थित होटल निर्वाणामा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सोमबार राति १ बजेको समयमा होटल परिसरमा गोली चलेको हो ।
गोली लागेर होटलका सुरक्षा गार्ड बुटवल उपमहानगरपालिका वडा नं. १५ का २७ वर्षीय मीन बहादुर परियार घाइते भएको प्रहरीले जनाएको छ । उनको खुट्टाको तिघ्रामा गोली लागेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले सोमबार राति होटलका सुरक्षा गार्डमाथि गोली चलेको पुष्टि गरे ।
घाइते परियारलाई राति नै भीम अस्पतालमा उपचारको लागि लगिएकोमा अहिले घर डिस्चार्ज भइसकेको क्षेत्रीले बताए । उनका अनुसार घाइते परियारले अपरिचित व्यक्तिले पेस्तोल निकालेर आफूमाथि गोली प्रहार गरेको बताएका छन् ।
होटल अगाडि केही व्यक्तिहरूबीच वादविवाद चलिरहेको र त्यही क्रममा एउटा समूह होटलमा प्रवेश गर्न थालेपछि सुरक्षा गार्डले रोक्न खोजेका थिए । होटलमा प्रवेश गर्दा रोक्न खोजेपछि आफूमाथि गोली प्रहार भएको परियारले प्रहरी सामु बयान दिएका छन् । उनका अनुसार गोली प्रहार गर्ने व्यक्ति होटलमा क्यासिनो खेल्न आउने भारतीय नागरिक भएको अनुमान गरिएको छ ।