८ वैशाख, काठमाडौं / विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
सोमबार काठमाडौंको माईतीघर–बानेश्वर सडक खण्डमा शिक्षकहरुले आज पनि प्रदर्शन गरेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत १९ दिनदेखि आन्दोलन गरिरहेका छन् ।
सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु सरकारले आगामी अधिवेशनबाट जारी गर्ने पतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् ।
विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरुको छ । सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरुका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिवद्धतामा शिक्षकहरु विश्वस्त छैनन् ।
सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरु आन्दोलन छोडेर फर्किने उनीहरुको भनाइ छ ।