१७ असार काठमाडौं / थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङतार्न सिनावात्रालाई निलम्बन गरेको छ । संवैधानिक अदालतले ७–२ को मतबाट उनलाई निलम्बन गर्ने निर्णय गरेको छ । उनलाई आफ्नो बचाउ पेस गर्न १५ दिनको समय दिइएको जनाइएको छ ।
प्रधानमन्त्री सिनावात्राले पूर्वकम्बोडियाली नेता हुन सेनसँग गरेको टेलिफोन कुराकानी चुहावट भएको थियो । त्यसपछि राजीनामा गर्न उनीमाथि दबाब थियो । ‘लिक’ भएको उक्त क्लिपमा उनले हुन सेनलाई काका भनेर सम्बोधन गरेकी थिइन् । र, एक थाई सैन्य कमान्डरको आलोचना गरेकी थिइन् ।
त्यसपछि थाइल्यान्डमा आक्रोश देखिएको थियो । उनलाई बर्खास्त गर्न उजुरी दायर गरिएको थियो । यो फैसलासँगै विगत दुई दशकदेखि थाई राजनीतिमा प्रभुत्व जमाएको आफ्नो कार्यकाल पूरा गर्नुअघि सत्ता गुमाउने शक्तिशाली सिनावात्रा वंशको उनी तेस्रो राजनीतिज्ञ बनेकी छन् । उनको सत्तारूढ गठबन्धन पहिलेदेखि नै कमजोर बहुमतमा थियो । दुई सातअघि एक प्रमुख रूढिवादी सहयोगी दलले गठबन्धन छोडेको थियो ।