६ साउन काठमाडौं / नेकपा एमालेको जारी नवौं बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ । आजको बैठकमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने १९ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।
बैठकमा सहभागी एक् नेताका अनुसार केन्द्रीय सदस्यहरु किशोर अधिकारी,जीवन घिमिरे,राजेन्द्र राई,आशारत्न जवेगु दिपक कार्की,रामलाल साह,युवारज बास्कोटाले आफ्ना भनाइहरु राख्नुभएको छ । यसैगरी इन्द्र भण्डारी,नैनकला ओझा,यज्ञराज सुनुवार,तुलसी नेउपाने,भगवती चौधरी,मञ्जु भण्डारी,राम राना,टंक आङ्बोहाङ र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आफ्ना धारणा राख्नु भएको छ ।
बैठकमा केन्द्रीय सदसय युवराज बाँस्कोटाले भूगोलको जिम्मेवारी लिएका कतिपय केन्द्रीय सदस्य लामो समय काठमाडौंमा बिताउने गरेको स्थानीय तहमा जनसम्पर्क कमजोर भएको बताउनुभएको छ । उहाँले पार्टीलाई पठाएका जनप्रतिनिधी निजामतीका हाकिम जस्तो चरित्र बोक्न थालेकोले तिनीहरुको आचरण सुधारमा पार्टीले ठोस नीति लिन माग गर्नुभएको छ । बास्कोटाले एमालेलाई राष्ट्रिय शक्ति बनाउने उद्घोष गरे पनि एकले अर्कोलाई निषेधको संस्कार पार्टीमा मौलाउदै गएकोले मिसन ०८४ मा समस्या ल्याउने तर्फ नेतृत्वले बेलैमा सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य जीवन घिमिरेले राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतितिर फर्कनु गल्ती हुने बताउनुभयो । उहाँले सम्माननीयले सम्मानित पोजिसन नै लिएर बस्नु उचित हुने सुझाव दिनुभएको छ । केन्द्रीय सदस्य मञ्जु भण्डारीले हिजोका दिनमा अध्यक्ष कमरेड र पूर्व राष्ट्रपति एक अर्काको सहयोगी भएरै राजनीति सफल पार्नु भएकोले आज पनि आपसी समझदारीमै विवादलाई टुंग्याउनु पर्ने धारणा राख्नु भएको छ ।
अहिले बागमती प्रदेशका केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ । हिजो देखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा मधेस,गण्डकी र सम्पर्क समन्वयका केन्द्रीय सदस्यहरुले हिजै धारणा राखिसकेका छन् । बैठकमा मुख्यत पार्टी सचिवालय र पोलिटव्यूरोले पारित गरेको विधानका विषयमा छलफल भइरहेको छ । केन्द्रीय कमिटीले दिएका सुझावका आधारमा विधान संसोधन गरेर मातहतका कमिटीमा थप सुझावका लागि पठाउने तयारी छ ।