६ साउन काठमाडौं / भारतका उपराष्ट्रपति जगदीप धनखडले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूलाई लेखिएको पत्रमा धनखडले राजीनामाको कारण स्वास्थ्य समस्यालाई बताएको द टाइम्स अफ इन्डियाले जनाएको छ ।
सन् २०२२ देखि यो पदमा रहेका ७४ वर्षीय जगदीप धनखडले वर्षायामको सत्रको पहिलो दिन राज्यसभाको सभापतिका रूपमा अध्यक्षता गरेपछि यो घोषणा गरेका छन् ।
संविधानको धारा ६७ अनुसार, भारतमा उपराष्ट्रपति संसद्को माथिल्लो सदन राज्यसभाको सभापति हुन्छ । संसद् चलिरहेका बेला राजीनामा दिएकाले धनखडको राजिनामापछि अब यो जिम्मेवारी कसले सम्हाल्छ भन्ने प्रश्न उठेको छ ।
उनले राजीनामा पत्रमा भनेका छन्, “म चिकित्सकीय सल्लाहको पालना गर्दै र स्वास्थ्यलाई प्राथमिकता दिँदै भारतको संविधानको धारा ६७(क) अनुसार, तत्काल प्रभावबाट उपराष्ट्रपतिको पदबाट राजीनामा दिँदैछु ।”
उपराष्ट्रपति धनखडले आफ्नो पत्रमा प्रधानमन्त्री नरेन्द्र मोदी र मन्त्रिपरिषद्लाई पनि धन्यवाद दिएका छन् । उनले थप भनेका छन्, “जब म यो प्रतिष्ठित पद छोड्दैछु, म भारतको विश्वव्यापी उत्थान र यसका अद्भुत उपलब्धिहरूमा गर्वले भरिन्छु, र यसको उज्ज्वल भविष्यमा मेरो पूर्ण विश्वास छ ।”
भारतका उपराष्ट्रपतिको कार्यकाल सामान्यतया शपथ लिएको मितिबाट पाँच वर्षको हुन्छ । यद्यपि, यो अवधिमा उनीहरूले कुनै पनि समयमा राष्ट्रपतिलाई सम्बोधन गर्दै आफ्नो पद छोड्न सक्ने बताइएको छ ।