२२औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८२
“धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता “
१५ असार काठमाडाैँ / “धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ देशभरी मनाइँदै गरेको २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ का अवसरमा आम कृषक दिदीबहिनी तथा दाजुभाइहरूमा मेरो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाली समाजमा परापूर्वकालदेखि नै धानको सांस्कृतिक, आर्थिक र सामाजिक महत्व रहँदै आएको छ । बर्तमान परिवेशमा अधिकांश नेपालीको आधारभूत खाद्यान्न धान नै हो र नेपाली समाजमा यसलाइ खाद्य सुरक्षाको मानक मानिएको छ । यसै महत्वलाई दृष्टीगत गरी बर्षेनी धान बालीको प्रवद्र्धनात्मक तथा सचेतनामूलक कार्यक्रम संचालन गरि राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइरहेका छौं ।
धान नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने र कूल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान दिने बाली हो । कृषि विकास रणनीति, आवधिक योजनाहरु र अन्य नीतिहरुमा पनि धानमा आत्मनिर्भरताका लागि प्राथमिकता दिइएको छ । त्यसकै आधारमा मन्त्रालय अन्तर्गतका निकाय तथा आयोजनाहरु एवं सङ्घीय सशर्त वित्तिय हस्तान्तरण मार्फत प्रदेश तथा स्थानीय तहहरूबाट धान प्रवद्र्धनका लागि विविध कार्यक्रमहरू सञ्चालन भईरहेका छन् । धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बिउविजन तथा मलखादको व्यवस्था, प्रविधि विस्तार र किसानलाई प्राविधिक सहायता एवं ज्ञान उपलब्ध गराउने, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन गर्ने जस्ता विषयहरू मन्त्रालयको प्राथमिकतामा रहेका छन्।
उत्पादन प्रविधिको विकास र अनुशरण तथा जलवायुमैत्री सिँचाइ प्रविधि विकासमा थुप्रै प्रयासहरू भएका छन् । तथापि बढ्दो जनसङ्ख्या, जलवायु परिवर्तनका असरहरू र खाने बानीमा आएको परिवर्तनका कारण बिभिन्न प्रयासका बावजुद धान तथा चामलको आयात गर्नु परेको छ । संविधानतः कृषि उत्पादन व्यवस्थापनको लागि स्थानीय तह र प्रदेश सरकार बढि जिम्मेवार रहेको सन्दर्भमा खाद्य सुरक्षा र आत्मनिर्भरताको राष्ट्रिय लक्ष्य प्राप्तिको दिशामा तीनै तहका सरकारहरुबीचको सहकार्य र समन्वय थप मजवुत हुनुपर्ने आवश्यकता देखिएको छ ।
अन्तमा जलवायु परिवर्तनको प्रतिकूल असरलाई न्यूनीकरण गर्दै धानको उत्पादन तथा उत्पादकत्वलाई दिगो बनाउन र धान चामलमा आत्मनिर्भरता हासिल गर्न आजको दिनले सम्बन्धित सबैमा थप उर्जा प्रदान गरोस भन्ने शुभकामना व्यक्त गर्दछु साथै “धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता” भन्ने नारालाई सार्थक तुल्याउन तीनै तहका सरकारी निकाय, गैर सरकारी संघ, संस्था, कृषि प्राविधिक, विकास साझेदार तथा विभिन्न सरोकारवाला निकायहरू लगायत सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइहरूमा आह्वान गर्दछु ।
२०८२ साल असार १५ गते
जय नेपाल!!!