२६ असार काठमाडौं / महानगरपालिकाको कार्यपालिका बैठक भोलि बस्ने भएको छ । महानगरका मेयर बालेन शाहले भोलि शुक्रबार २ बजे बस्ने गरी कार्यपालिका बैठक बोलाउने टुंगो भएको वडा नम्बर २६ का वडाध्यक्ष ख्याम तिवारीले जानकारी दिए ।
भोलि दुई बजे कार्यपालिका बस्ने भएको छ, उनले भने । स्रोतका अनुसार भोलि कार्यपालिका बस्नको लागि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने छुट्टीमा बस्न लगाइएको छ ।
कार्यपालिका बैठक राख्नको लागि कार्यकारीलाई छुट्टीमा बस्न लगाइएको छ,’ स्रोतले भन्यो, ’मेयरले नै कार्यकारीसँग बैठक नबस्ने भनेपछि बजेट ल्याउन कार्यकारीलाई छुट्टीमा बस्न लागाएका छौं । उहाँले स्वीकार गर्नुभएको छ ।’
स्थानीय सरकार सञ्चालन ऐनले कार्यपालिका बैठक डाक्ने र त्यसको अध्यक्षता गर्ने जिम्मेवारी मेयरलाई दिएको छ । महिनाको एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था ऐनमा छ । तर मेयर शाहले काठमाडौं टावर नक्सा पास विवाद सुरू भएदेखि पुसबाट बैठक डाकेका थिएनन्। ६ महिनापछि भोलि बस्ने भएको हो ।