२० साउन काठमाडौँ / नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मंगलबार (आज) बागमती प्रदेशको मुख्यमन्त्री बन्दै छन् । सोमबार (हिजो) नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका बानियाँलाई आज प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्ति गर्ने तयारी गरेका हुन् ।
बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएपछि बानियाँ नयाँ मुख्यमन्त्री बन्न लागेका हुन् । उनले एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षरसहित मुख्यमन्त्री पदका लागि सोमबार दाबी पेस गरेका हुन् ।
अब आज उनलाई मुख्यमन्त्रीमा नियुक्ति गरिने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । बानियाँले आजै साँझ पद तथा गोपनीयताको शपथ लिने तयारीसमेत रहेको बताइएको छ ।
उनले शपथ खाएपछि अन्य विभिागीय मन्त्री नियुक्ति प्रक्रिया थालिने एक प्रदेश सांसदले जानकारी दिए । बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ मन्त्रालय छन् । दुईदलीय गठबन्धन सरकारमा यसअघि अनुसारै कांग्रेसबाट मुख्यमन्त्रीसहित ८ र एमालेबाट ६ मन्त्री नियुक्ति हुनेछन् ।