२ कार्तिक काठमाडौं /हमासले बन्धक बनाउँदा मारिएका नेपाली युवा विपीन जोशीको शव आज (सोमबार) नै उनको गृह जिल्ला कञ्चनपुर लगिने भएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, आज अपराह्न ४ बजेपछि विपीनको शवलाई सेनाको विमान (स्काई ट्रक) मा राखी धनगढी विमानस्थलसम्म लगिनेछ ।
“धनगढी विमानस्थलबाट नेपाली सेनाको सुदूरपश्चिम पृतनाले विपीनको शव उनको कञ्चनपुरस्थित घरसम्म पुर्याउने छ,” नेपाली सेनाका प्रवक्ता बस्नेतले भने ।
इजरायलबाट विपीनको शव आज दिउँसो २ बजेतिर काठमाडौं पुर्याइँदै छ । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै उनलाई श्रद्धाञ्जली दिने कार्यक्रम राखिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो साढे २ बजे विमानस्थल पुगी विपीनलाई श्रद्धाञ्जली दिने कार्यक्रम छ । विमानस्थलमा श्रद्धाञ्जली कार्यक्रम सकिएपछि विपीनको शवलाई सेनाको स्काई ट्रकमा राखी धनगढी लगिनेछ ।