
२१ कात्तिक, काठमाडौं / संघीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दैछ । राज्य व्यवस्था तथा सुशासन समितिको सभा कक्षमा शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
जेन–जी आन्दोलनपछि बनेको वर्तमान सरकारले प्रशासन सुधारको लागि भन्दै संघीय संसद्का पदाधिकारी तथा सांसदले पाउँदै आएको कर्मचारी सुविधा कटौतीको निर्णय गरेपछि संघीय संसद् असन्तुष्ट छ ।
कर्मचारी कटौतीलगायको निर्णयपछि संघ र प्रदेशसभाका पदाधिकारीहरू सरकारसँग असन्तुष्ट छन् । यही विषयमा थप छलफलका लागि संघीय संसद् र प्रदेश सभाका पदाधिकारीको संयुक्त बैठक आह्वान गरिएको एक पदाधिकारीले जानकारी दिए ।
प्रतिनिधिसभाका सभामुख देवराज रिमाल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसहित प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, संसद् सचिवालयका महासचिवलगायतका पदाधिकारीले प्रधानमन्त्रीसँग भेटेरै असन्तुष्टि जनाइसकेका छन् ।