२१ असोज काठमाडौँ / निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै सरोकारवालाहरूसँग छलफल र संवाद थाल्ने भएको छ । आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसको दोस्रो दिन मंगलबार आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने भएका छन् ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेले मंगलबार दिउँसो ३ बजे सिंहदरबार पुगेर प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी रहेको बताए । आयोगका पदाधिकारीहरुले प्रधानमन्त्रीसँगको छलफलमा फागुन २१ को निर्वाचन तयारीका समग्र पक्षमा कुराकानी हुने बताए ।
‘निर्वाचनको तयारी, शान्ति सुरक्षा, मतपेटिका, मतपत्र, लगायतका सामाग्रीहरुको व्यवस्थापन, मतदाता नामावली लगायतका विषयमा छलफल हुँदैछ’, सूचना अधिकारी घिमिरेको भनाई छ ।
प्रधानमन्त्रीसँगको छलफलपछि आयोगले राजनीतिक दलहरूसँग पनि छलफल गर्ने तयारी गरेको जनाएको छ । ‘अव छिटै राजनीतिक दलहरूसँग पनि छलफल गर्ने आयोगको तयारी र गृहकार्य भइरहेको छ’, घिमिरेले भने, ‘सबै दलहरूसँग मिटिङ राखिन्छ ।’ त्यसक्रममा दलहरूसँग आयोगले गरेको तयारी र कुनै विषयमा कन्फ्युजन छन् भने त्यसबारेमा पनि दलहरूलाई प्रस्ट पार्ने घिमिरेले बताए ।