९ साउन काठमाडौँ / प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका चार सांसदको विषयगत समिति हेरफेर भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेसबाट प्रतिनिधित्व गर्ने दिक्पालकुमार शाही, विष्णुकमार कार्की, प्रतिमा गौतम र आशा विकको विषयगत समिति हेरफेर गर्ने प्रस्ताव गरेका थिए ।
सभामुख घिमिरेको त्यो प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो । पारित भएको प्रस्तावअनुसार दिक्पाल कुमार शाही कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट महिला तथा सामाजिक मामिला समितिमा गएका छन् ।
विष्णुकुमार कार्की कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पूर्वाधार विकास समितिमा सरुवा भएका छन् । प्रतिमा गौतम पूर्वाधार विकास समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा पुगेकी छन् । आशा बिक महिला तथा सामाजिक मामिला समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा पुगेकी छन् ।