
१८ मङ्सिर,काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू)बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो ।
व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्ने सम्भावना हुन्छ भने ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस हुनु यो रोगको लक्षण हो ।
बिरामी भएका व्यक्तिहरुसँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने गर्नुपर्दछ । यस्तै बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, आफ्नो आँखा, नाक वा मुख नछुने गर्नुपर्दछ ।
विशेष गरि बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुमा इन्फ्लुएन्जा भाइरस सङ्क्रमणको सम्भावना बढी हुने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।