
पुस २, काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्न भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् । राष्ट्रिय गौरबको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर ब्यारेजको बुधवार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले यस्तो बताएका हुन्।
नेपाल–भारतबीचको महाकाली सन्धिअनुसार हिउँदमा ३०० र वर्षामा १००० क्युसेक पानी पाउने व्यवस्था छ। सिँचाइ सुविधाका लागि ९ अर्ब लगानी भइसक्दा पनि पानी सञ्चालन नहुँदा स्थानीय स्तरमा आलोचना भइरहेको छ।
उनले नेपालतर्फ पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र एवम् द्विपक्षीय भेटमा निरन्तरता छलफल गरिनुका साथै पत्राचारसमेत भइरहेको उल्लेख गरे । कञ्चनपुरका सुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा तथा प्रशाखा नहर बनिसकेकाले भारतका तर्फबाट पानी छोड्ने निर्णय आउने विश्वास व्यक्त गरे ।