९ साउन काठमाडौँ / नेपाली कांग्रेसबाट मुख्यमन्त्री निर्वाचित भएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
कांग्रेसकै २१ जना प्रदेश सभा सदस्यहरूले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री लामाविरुद्ध अविश्वास
प्रस्तावको नेतृत्व कांग्रेसकै बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरेका छन् । बानियाँ मुख्यमन्त्रीको कुर्सी हत्याउने खेलमा छन् । १३ पुस २०७९ मा संसदीय दलको निर्वाचनमा लामाले ३७ सांसदमध्ये लामाले २१ मत पाएका थिए भने १६ मत पाएर बानियाँ पराजित भए । तर, एक वर्षमा परिस्थिति ठा्याक्कै उल्टिएको छ । बानियाँको पक्षमा २१ जना नै सांसदले हस्ताक्षर गरेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले लामा र बानियाँलाई आधा/आधा समय अर्थात् एक एक वर्ष मुख्यमन्त्री बन्ने सहमती गराएको बानियाँ पक्षको दाबी छ । सोही सहमती अनुसार १ वर्षअघि ९ साउन २०८१ मा मुख्यमन्त्री बनेका लामाले राजीनामा नदिएपछि उनीविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गरिएको बानियाँ पक्षको तर्क छ ।
बानियाँलाई साथ दिँदै प्रदेश सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले राजीनामा समेत बुझाएका छन् ।